पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका आधारमा आज आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
ढकालले १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ स्रोत खुलाउन नसकेको आयोगले जनाएको छ।
ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४-०४-३२ गतेदेखि सम्पत्ति विवरण पेश गरेको मिति २०७९-०२-३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि मानेर अनुसन्धान गरेको जनाएको छ।
स्रोत नखुलेको उक्त रकम बिगोका साथै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुनुपर्ने माग गरेको छ।
२०७४ साउन ३२ गते उनलाई सरकारले विकास कोषको सदस्यसचिवमा नियुक्त गरेको थियो। नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तत्कालीन मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका थिए।
आजै पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरीलगायतको टोलीले पशुपतिमा जलहरीको सुनको मात्रा जाँच गरेको थियो। त्यस क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको छ।
असार ११, २०८० सोमबार १४:०२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।