काठमाडौंमा अब झोला, टिसर्ट, मोटरसाइकल लगायतमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर

काठमाडौं : काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ।
महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० मा सो व्यवस्था गरेको छ।
विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न बेलुन, ज्याकेट, झोला, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवं सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन रू पाँच सय कर तोकिएको छ।
यसरी गरिने विज्ञापनका लागि एकपटकमा अधिकतम सात दिनका लागि अनुमति प्रदान गरिने जनाइएको छ।
झोलाद्वारा गरिने विज्ञापनको वार्षिक प्रति झोला रू एक सय कर तिर्नुपर्नेछ। सार्वजनिक स्थानबाट नदेखिने गरी मल, चलचित्र भवन, लगायतका व्यावसायिक भवनभित्र विज्ञापन प्रचारप्रसारका लागि राखिएको विज्ञापन सामग्रीको प्रतिवर्ग फुट रू पाँच सय कर तोकिएको छ।
असार १०, २०८० आइतबार १७:२९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।