एनएमबि बैंकद्वारा नेपालमा ‘वी च्याट पे’ सार्वजनिक

काठमाडौं : एनएमबि बैंकसँगको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट ‘वी च्याट पे’ आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ।
वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत श्री चेन सोङले गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक श्री योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहका प्रमुख अतिथी चीनका राजदुत श्री चेन सोङले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याट मार्फत गर्न सक्ने बताए।
यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ्ग प्रणाली मार्फत सम्बन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने र यसले डिजिटल बैंकीङ्ग कारोबारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्त गरे।
यो साझेदारीले वी च्याट पे मार्फत कारोबार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको उनले बताए।
अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारिक कारोबार गर्न सक्नेछन्।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
असार ८, २०८० शुक्रबार १२:३९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।