स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन अर्थमन्त्रीले सचिवहरूलाई निर्देशन दिए

काठमाडौँ : आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले छलफल सुरु गरेका छन्।
बिहीबार अर्थ मन्त्रालयमा उनले चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको विषयमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन्।
छलफलमा अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरेका थिए।
महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्य योजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिए।
उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी सुरु गर्न समेत निर्देशन दिएका थिए।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्य सचिव डा. वैकुण्ठ अर्याल सहभागी थिए। दुवैले बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका थिए।
असार ७, २०८० बिहीबार २०:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।