अदालतले नेपाली हलमा हिन्दी फिल्म चलाउन अल्पकालीन बाटो खोल्यो, मेयर बालेनले दिए कानुन नमान्ने 'स्वाँठ' अभिव्यक्ति
 
                    
                    
                    
                    काठमाडौँ : उच्च अदालत पाटनले अन्तरिम आदेश मार्फत नेपालको हलमा हिन्दी फिल्म चल्ने बाटो खुलाएको छ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीर बहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै अहिलेलाई हिन्दी सिनेमाहरू चलाउने बाटो खोल्दै विपक्षीसँग छलफल गर्न असार १२ गते दुवै पक्षलाई बोलाएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा लेख्दै महानगर क्षेत्रमा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। महानगरले लिखित रूपमै यस्तो निर्णय गरेको कतैबाट पुष्टि हुन सकेको छैन।
बालेनको फेसबुक स्टाटसपछि नेपाली हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएपछि हल सञ्चालकहरूको छाता सङ्गठन चलचित्र सङ्घले बुधवार उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।
रिटमा मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।
उता अदालतबाट दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल नेपाली हलमा हिन्दी फिल्म लगाउने बाटो खोलेपछि मेयर बालेन्द्रले अदालत र सरकार दुबैमाथि गम्भीर आक्षेप लगाउँदै देशको सार्वभौमसत्ता र स्वाधीनताको सवालमा सरकार अनि अदालतलाई समेत नमान्ने धारणा सार्वजनिक गरेका छन्।
उनले अदालतको आदेशपछि अदालत र सरकार भारत को गुलाम भएको बुझिने भन्दै गम्भीर आरोप समेत लगाएका छन्।
असार ७, २०८० बिहीबार १५:४३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    