चुम्बन र बेडसिन बाधक, पास भएन ‘परस्त्री’को सेन्सर

काठमाडौं : सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको फिल्म ‘परस्त्री’ले प्रदर्शनका लागि अनुमति पाएनन।
मंगलबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्ममा समावेश चुम्बन र बेडसिनका दृश्यप्रति आपत्ति जनाउँदै फिल्म प्रदर्शनका लागि अनुमति नदिएको हो।
असार १५ गतेबाट अल नेपाल रिलिज हुने भनिएको फिल्ममा समावेश किस र बेडसिनसहित तीन दृश्यलाई हटाउन आग्रह गरिएको छ।
फिल्मकी निर्माता शर्मिला पाण्डेले तीन सिनका कारण सेन्सर पास नभएको बताइन्। केही दिनअघिको भेटमा निर्माता पाण्डेले फिल्मको सिनमा सेन्सर लागे फिल्म हेर्दा खल्लो हुने बताएकी थिइन्। नभन्दै उनको फिल्मका दृश्यमा सेन्सर बोर्डको कैँची चल्ने भएको हो।
फिल्ममा विवाहेत्तर सम्बन्धको कथावस्तु समावेश गरिएको छ। यस फिल्मको मुख्य भूमिकामा शिल्पा मास्केलाई देख्न सकिन्छ। उनका अलवा कोसिस क्षत्री, गौरव विष्ट,अलिसा क्षत्री, आशान्त शर्माको मुख्य भूमिका रहेको छ।
काठमाडौँ र मुस्ताङमा छायांकन भएको फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो। फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्।
असार ५, २०८० मंगलबार २१:१२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।