प्रतिकित्ता ४३५ रूपैयाँ तोकिएको घोराही सिमेन्टको आईपीओ स्थगित, बोर्डले थाल्यो अनुसन्धान

प्रतिकित्ता ४३५ रूपैयाँ तोकिएको घोराही सिमेन्टको आईपीओ स्थगित, बोर्डले थाल्यो अनुसन्धान

काठमाडौं : पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता ४३५ रूपैयाँ मूल्य तोकेर निस्कासन गरिएको घोराही सिमेन्टको प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) स्थगित गरेको छ।

सेयरमा आवेदन दिनका लागि तोकिएको पहिलो चार दिनको समयभित्रै माग गरिएको भन्दा बढी आवेदन परेको अवस्थामा पनि आवेदन संकलनका लागि सूचना जारी गरेको, खातामा पैसा नभए पनि ठूलो संख्यामा आवेदन परेकोलगायत विषयमा अनुसन्धान गर्नका लागि भन्दै बोर्डले आईपीओ स्थगित गरेको हो।

घोराही सिमेन्ट र केयर रेटिङ नेपाल दुवैमा शंकर ग्रुपको ठूलो लगानी छ। यसरी आफ्नै लगानी रहेको कम्पनीमा रेटिङ गर्दा स्वार्थ बाँझिने भएकाले अर्कै कम्पनीबाट रेटिङ गराउनुपर्ने हुन्छ।

यो विषय बोर्डले पनि प्रिमियममा सेयर निस्कासनको अनुमति दिने बेलासम्म जानकारी नै पाएन। उक्त कम्पनीले सेयर जारी गरिसकेपछि मात्र (गत साता) केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता ४ सय रूपैयाँ र सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ४३५ रुपैयाँ तोकेको थियो। तर, सो मूल्य परिमार्जन हुनुपर्ने प्रत्याभूतिकर्ता (अण्डरराइटिङ) नागरिक लगानी कोष (सीआईटी)ले आवाज उठाएको थियो।

असार ४, २०८० सोमबार १९:२१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।