किसानको नाममा विचौलियाले गोलभेंडा सडकमा फालेको आरोप, छानबिन गर्न निर्देशन

किसानको नाममा विचौलियाले गोलभेंडा सडकमा फालेको आरोप, छानबिन गर्न निर्देशन

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेंडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ।

समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेंडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयमा भनिएको छ, ‘यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन? घटना प्रचलित कानुन बमोजिम दण्डनीय हो कि होइन?’

बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेंडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेंडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ।

उक्त घटनामा संलग्न उपर छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सुझाव दिंदै समितिले कानुन बमोजिम सम्बन्धित निकायबाट छानबिन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ।

बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ।

असार ४, २०८० सोमबार १७:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।