स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु-प्याजमा कर : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसान लगायत कृषकहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए।
‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो,’ उनले भने, ‘यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ। स्थानीय उत्पादनलाई महँगो बनाउँदैन।’
अर्थमन्त्री महतले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्थामा मुलुकभित्रै उत्पादन बढाउन यसले सकारात्मक प्रभाव पार्ने बताए।
‘उत्पादन थाल्दा देशमै रोजगारी पनि सिर्जना पनि हुन्छ। उत्पादनकर्ता पनि उत्साहित हुन्छन्। पहिला कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन,’ उनले थपे, ‘उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ। उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ।’
अर्थमन्त्री महतले अहिले करको दर लागू नहुँदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरूले मूल्यवृद्धि गराएको बताए।
जेठ ३२, २०८० बिहीबार १७:५०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।