एनसेलले भन्यो- हामीले सरकारलाई तिर्नुपर्ने रकम छैन, उल्टो १४ लाख डलर लिनुछ

एनसेलले भन्यो- हामीले सरकारलाई तिर्नुपर्ने रकम छैन, उल्टो १४ लाख डलर लिनुछ

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले सरकारलाई तिर्न रकम बाँकी नभएको दाबी गरेको छ।

सोमबार विज्ञप्ति निकालेर एनसेल आजियाटाले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी)ले गरेको निर्णयको सम्मान गर्दै सरकारलाई तिर्न बाँकी कुनै रकम नभएको दाबी गरेको हो।

केन्द्रको निर्णयको व्याख्या गर्दै उसले नेपाल सरकारले आफूलाई १४ लाख डलर तिर्न बाँकी रहेको तर्क गरेको छ।

‘मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ। यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन।’

आईसीएसआईडी कम्भेन्सनको धारा ३७ (२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले गत जेठ २६ मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको थियो। नेपाल सरकारबाट ३४८ मिलियन अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्दै एनसेलले २०७६ वैशाखमा आईसीएसआईडीमा दाबी निवेदन दिएकाे थियाे।

२०७२ चैतमा स्विडिस कम्पनी टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर स्वामित्वको रेनोल्ड होल्डिङ लिमिटेडको सम्पूर्ण स्वामित्व मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियोर। एनसेलको स्वामित्व परिवर्तन भएसँगै पुँजिगत लाभकरको विषयमा विवाद भएकाे थियाे।

सर्वोच्च अदालतको पटक पटककाे आदेशपछि एनसेलले नेपाल सरकारलाई ४५ अर्ब ४३ करोड पुँजिगत लाभकर बुझाएको थियो। तर आजियाटा इन्भेस्टमेन्ट यूके लिमिटेड र एनसेल प्राइभेट लिमिटेडले द्विपक्षीय कर सम्झौता विपरीत हुने गरी पुँजीगत लाभकर असुलेको भन्दै नेपाल सरकारबाट क्षतिपूर्तिको मागसहित आईसीएसआईडीमा मध्यस्थताका लागि निवेदन दिएकाे थियाे।

जेठ २९, २०८० सोमबार २१:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।