कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं : अर्थमन्त्री महत

कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन्।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ ले सोमबार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरे।

‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन। दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ। बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने।

निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको महतको भनाइ छ। उनले आफ्नो अठोट देश र जनताप्रति भएको बताए।

‘हाम्रा आकाङ्क्षाहरू धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ,’ उनले थपे।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने समेत बताए।

जेठ २९, २०८० सोमबार १२:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।