पुरानाले केही गरेनन् भन्नेलाई ओलीको जवाफ- ‘यो अवस्था कहाँबाट आयो त नानीबाबुहरू?’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पूराना राजनीतिक दलहरूविरुद्ध अभियान सञ्चालन गर्न खोजिएको बताएका छन्।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले कसैले नाम नलिइ पूराना राजनीतिक दलहरूविरुद्ध अभियान सञ्चालन गर्न खोजिएको बताएका हुन्।
उनले भने, ‘अहिले पूरानाहरूविरुद्धको अभियान, योगदान, त्याग, संघर्ष र बलिदानविरुद्धको अभियान सञ्चालन गर्न खोजिएको छ। हामी इतिहासलाई सम्मान गर्छौं भन्छौं, त्यो भनेको के?’
अहिलेको उपलब्धि सानो बलिदान र संघर्षबाट नआएको भन्दै युवापुस्ताले त्यसलाई बुझ्नुपर्नेमा उनले जोड दिए।
उनले अगाडि थपे, ‘नेपालमा हामीले ठूला उपलब्धिहरू हात पारेका छौं। यद्यपि केही युवाहरु अहिले बहकिएका छन्, केही बहकाइएका छन्। सानु बलिदानबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छैनौँ। त्यो उनीहरूले बुझ्न सकेका छैनन्।’
आजको जथाभावी बोल्न पाएको स्थिति बलिदान र संघर्षबाट आएको भन्दै उनले यसको समीक्षा गर्नुपर्ने बताए।
उनले भने, ‘आजका केही उत्ताउलापनले पूरानाहरूले केही गरेनन् भन्छन्। यो अवस्था कहाँबाट आयो त नानीबाबुहरू?’
उनले अगाडि थपे, ‘वर्षौंसम्म गोलघर र कालकोठरीमा बस्नु सजिलो कुरा थिएन। शहीदहरूले बलिदान दिनु रहरको कुरा थिएन। बलिदान नभएकाहरूले शीर नझुकाइ बाँच्नु सजिलो कुरा थिएन।’
यस्तै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा दुईवटा नदी बेचेर आएकोसमेत आरोप लगाए।
जेठ २७, २०८० शनिबार १७:३९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।