पललाई पत्याएनन् फिल्म मेकरले, पैसा र स्क्रिप्ट बोकेर हिँड्दा पनि भेटेनन् एउटै निर्देशक
 
                    
                    
                    
                    काठमाडौं : बलात्कार आरोपमा एक वर्ष जेल जीवन बिताएर सफाइ पाएका अभिनेता पल शाहलाई फिल्म मेकरले पत्याउन छाडेका छन्।
जेलबाट छुटेपछि फिल्म खेलाउनका लागि निर्माता र निर्देशक धुइरो लाग्छ भन्ने सपना बोकेका पलको सपना साकार नहुने देखिएको छ।
जेलबाट बाहिर निस्किएपछि पलको सुरुको समय निकै चमकधमक थियो। कार्यक्रममा जाँदा पनि उनी हेलिकोप्टर चार्टर गरेर पश्चिमका कार्यक्रममा पुगेका थिए।
उनी बहिनीलाई साथमा लिएर दाङदेखि रुकुमका विभिन्न महोत्सवमा सहभागी हुन पुगेका थिए। जसका लागि उनले पारिश्रमिक स्वरूप ५ लाखसम्म बुझेका थिए।
पलले एउटा भिडियो खेलेको पारिश्रमिक १ लाखबाट बढाएर ३ लाख पुर्याएको हल्ला पनि चलाए। कति भिडियो आफैं निर्देशन गरे। यता फिल्मका लागि कसैले प्रस्ताव नगरेपछि उनी आफैं फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन्।
फिल्म बनाउनका लागि निर्देशक खोज्दै हिंडेका पलले एक महिनाभन्दा लामो समय भइसक्दा पनि निर्देशक भेट्न सकेका छैनन्।
एक हातमा पैसा र अर्को हातमा स्कृप्ट बोकेर निर्देशक खोज्न हिंडेका पललाई उनी नजिक मानिएका निर्देशकले समेत पत्याउन छाडेका छन्।
एक साताअघि उनले विकास सुवेदीलाई निर्देशनमा डेब्यु गर्न आग्रह गरेका थिए। उनको प्रस्तावलाई सुवेदीले अहिले फिल्म निर्देशन गर्ने मन नभएको भन्दै फर्काइदिए। त्यसअघि उनले निर्देशक दिनेश राउतसँग पनि फिल्मको बारेमा कुराकानी गरेका थिए।
आफू निकट मानिएका अर्का निर्देशक सुदर्शन थापालाई पनि उनले भेटे। तर सुदर्शन थापाले पनि पलको प्रस्तावलाई स्वीकार गरेनन्। स्रोतका अनुसार अहिले पल शाह निर्देशकको खोजीमा भौतारिरहेका छन्।
अभिनेत्री तथा निर्मात्री पूजा शर्माले पल जेलमा रहँदा पललाई नै लिएर आफूले फिल्म बनाउने घोषणा गरेकी थिइन्। तर, पल जेलबाट बाहिर आएको यतिका समय बितिसक्दा पनि उनीहरूबीच फिल्ममा सहकार्य हुने छाँटकाँट देखिएको छैन। यो उनीहरुबीच चर्चामा रहने बहाना मात्रै रहेको देखियो।
अरुको फिल्ममा महँगो पारिश्रमिक लिएर काम गर्दै आएका पल शाहलाई यतिबेला कसैले नपत्याइदिएपछि आफैं गीत खोज्दै म्युजिक भिडियोमा लगानी गर्न थालेका छन्। आफूलाई व्यस्त देखाउनका लागि भए पनि भिडियोको काम आफैं गरिरहेका छन्।
जेल बाहिर आएपटि बुधबार उनी पहिलो पटक साङ्गीतिक कार्यक्रममा सहभागी हुन विदेश उडेका छन्। उनी मलेसियासहित ३ वटा देशमा आयोजना हुने साङ्गीतिक कार्यक्रमका सहभागी हुने बताइएको छ।
जेठ २५, २०८० बिहीबार ११:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    