प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निकाल्दै आइएमई लाइफ इन्स्योरेन्स,

प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निकाल्दै आइएमई लाइफ इन्स्योरेन्स,

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।

नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारीगर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागि स्विकृती भएको उल्लेख गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ। यसै गरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।

जेठ २४, २०८० बुधबार ०७:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।