
करको विषयमा सरकारले नबोलेसम्म संसद् चल्न नदिने एमालेको अडान

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने अडान राखेको छ।
एमालेका सचेतक महेश बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले भूमिका खेलेको विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताए।
मंगलबार (आज) संसद् भवनमा सञ्चारकर्मीहरूसँग उनले भने, ‘करका विषयसँग जोडिएको विषयहरुमा सदन सञ्चालन पूर्व सरकार जवाफ दिन तयार हुन्छ भने हाउस चलाउन तयार छौं। यस विषयमा सरकार देश, सदन र जनताप्रति जवाफदेही भएन भने बैठक सहजताका साथ जाँदैन। मन्त्रीले जवाफ नदिउन्जेलसम्म बैठक चल्दैन।’
यस विषयमा प्रमुख प्रतिपक्षी तीन दलले विरोध जनाउने भएपछि आज बस्ने भनेको संसद्को बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।
बैठक बिहान ११ बजेका लागि बोलाइए पनि सहमति हुन नसक्दा बैठक १:३० बजेका लागि सारिएको थियो। तर यस समयमा पनि संसद् सुरु हुन सकेको छैन।
बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर गर्न अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमालेसँगै राप्रपा र रास्वपाले सरकारको जवाफ माग गर्ने तयारी गरेपछि संसद् सुरु हुन नसकेको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने करका दर हेरफेरमा सरकारले गतसाल झैं टार्न खोजेको बताए। उनले यस विषयमा छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने उल्लेख गरे।
जेठ २३, २०८० मंगलबार १३:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।