अन्तिम खेलमा गोल गर्दै रियल म्याड्रिडबाट विदा भए बेन्जेमा

अन्तिम खेलमा गोल गर्दै रियल म्याड्रिडबाट विदा भए बेन्जेमा

एजेन्सी : फ्रान्सका स्टार स्ट्राइकर करिम बेन्जेमाले रियल म्याड्रिडका लागि आफ्नो अन्तिम खेलमा गोल गरेका छन्। रियल म्याड्रिडसँगको १४ वर्षे करियरको अन्तिम खेलमा पेनाल्टी मार्फत गोल गर्दै उनी क्लबबाट विदा भए।

गए राति भएको स्पेनिस लिगको खेलमा रियलले एथलेटिको बिल्बाओसँग १-१ गोलको बराबरीको खेल खेल्यो।

घरेलु मैदानमा एक गोलले पछि परेको रियलको लागि ७२ औं मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काएका थिए।

रियलका लागि उच्च गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा छन्। जहाँ उनले ४३८ खेलमा २३७ गोल गरेका छन्। 

रियलसँगको उनको सम्झौता यसै महिनाको अन्त्यमा समाप्त हुँदैछ। त्यसपछि उनी सम्झौता लम्ब्याउने पक्षमा छैनन्।

उनले साउदी अरबको एक क्लबमा आबद्ध हुने जानकारी क्लबलाई पहिल्यै गराएका छन्।

३५ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल मड्रिड भित्रिएका थिए। रियलमा रहँदा उनले पाँच पटक च्याम्पियन्स लिग र ४ पटक स्पेनिस लिगको उपाधि जितेका थिए।

जेठ २२, २०८० सोमबार ०८:११:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।