ऋणीको आफन्तलाई प्रभु बैंकका सहायक सीईओ मणिरामको धम्की : मेराविरुद्ध लाग्ने दुर्घटनामा मर्छन्, दागबत्ती मै दिउँला'

काठमाडौँ : ऋण लिन आएका ऋणीसँग बिचौलियामार्फत कमिसन लिएको आरोप लागेका प्रभु बैंकका सहायक सीईओ मणिराम पोखरेलले ऋणीका आफन्तलाई धम्की दिएका छन्।
उनले सल्लाह गर्नुछ भन्दै आफन्तलाई बोलाएर कमिसन लिएको घटना सार्वजनिक गरेको भन्दै सोमबार धम्क्याएका हुन्।
उनले गिरोहसँग लागेर आफ्नो करिअरमा खेलेको आरोप लगाउँदै 'मेराविरुद्ध जो-जो लाग्छन् ती सडक दुर्घटनामा मर्छन्। तिमीलाई दागबत्ती दिन मन लागेको छ। मै दागबत्ती दिउँला' भन्दै धम्क्याएका हुन्।
'एक करोड, डेढ करोड कति खायौँ मेरा विरुद्ध लाग्न?' उनले ऋणीका आफन्तलाई भनेका छन्' मेरा विरुद्ध लाग्ने धेरैको सवारी दुर्घटनामा ज्यान गएको छ। होस् गर्नु।'
एक बचतकर्ताले जग्गा राखेर ५० लाख ऋण निकाल्ने प्रक्रिया स्वीकृत गराउने क्रममा उनले एकनारायण देवकोटामार्फत ५ प्रतिशत कमिसन लिएको चेकसहित उकेराले आइतबार समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशित भएपछि एक सहयोगीमार्फत उनी ऋणीको पारिवारिक सदस्यको सम्पर्कमा पुगेर अनामनगर क्षेत्रको एक रेस्टुरेन्टमा भेट्न बोलाएका थिए। करिब तीन घण्टाको भेटमा उनले आफू बैंकको सीईओ बन्न लागेको बेलामा गिरोहको योजनामा लागेको भन्दै उनलाई निरन्तर धम्की दिएका थिए।
'एक करोड, डेढ करोड कति खायौँ मेराविरुद्ध लाग्न?' उनले ऋणीका आफन्तलाई भनेका छन्', मेराविरुद्ध लाग्ने धेरैको सवारी दुर्घटनामा ज्यान गएको छ। होस् गर्नू।'
उनले ऋण लिँदा आफूले सहजीकरण गरेको दाबी गर्दै एकनारायणले के गरे भन्ने जानकारी नभएको बताएका थिए। आफूविरुद्ध लागेर केही नहुने अहम् पालेका उनले ऋणीका आफन्तलाई बारम्बार ठिक पार्ने भन्दै धम्क्याएका थिए।
भेटको प्रसंगबारे जानकारी लिन पोखरेललाई सम्पर्क गर्दा उनले केही समयपछि कुरा गर्ने बताएका थिए। तर उनी त्यसपछि सम्पर्कमा आएनन्।
ऋणीले उकेरालाई उपलब्ध गराएको चेकको तस्वीरअनुसार २०७७ पुस ८ गतेको मितिअनुसार तीन वटा चेकको ४ लाख ६ हजार रुपैयाँ ऋण मिलाएबापत कमिसन लिएको देखिन्छ। सो चेक गीता पौडेल देवकोटाको नाममा साटिएको थियो। गीता एकनारायणकी श्रीमती हुन्।
बैंकबाट ऋण स्वीकृत गराउन कमिसन लाग्ने र सो कमिसन दिन राजी हुने हो भने ऋण स्वीकृत हुने प्रस्ताव एकनारायणले राखेका थिए। अनामनगरको सिलौटो रेस्टुरेन्टमा भएको छलफलमा पोखरेलेसँगै थिए। उनले 'एकनारायणजीले भनेअनुसार गरे हुन्छ' भने। ऋण स्वीकृत भएपछि कमिसनबापत तीन वटा चेकबाट रकम लिएको देखिन्छ।
ऋण लिन प्रभु बैंकको नारायणगढ शाखामा आवेदन परेको थियो। एकनारायणसँगको छलफलपछि पहिला हुन्न भन्ने शाखा प्रमुखले समेत फटाफट ऋणको प्रक्रिया अगाडि बढाएर ४९ लाख ऋण स्वीकृत गरेका थिए।
चेक कटाउँदा चेक पाउनेको नाम खाली राखेर पैसा भर्न लगाए। पहिलो चेक एक लाख ९६ हजारको काटियो। अर्को एक लाख ५० हजारको काट्न लगाए। तेस्रो चेक ७० हजारको काटियो। तीनै चेक गीताको नाममा साटियो।
*शीर्षक परिवर्तन गरिएको
जेठ १६, २०८० मंगलबार १९:५४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।