विदेश पढ्न गए तीन प्रतिशत सेवा शुल्क, विदेश घुम्न जाँदा पाँच प्रतिशत पर्यटन शुल्क

काठमाडौं : नयाँ आम्दानीको स्रोत खोज्नेक्रममा सरकारले विदेशमा अध्ययन गर्न जाँदा लाग्ने शैक्षिक शुल्क बढाएको छ।
नयाँ बजेटमा अब अन्य देश घुम्न जाँदा पाँच प्रतिशत पर्यटन शुल्क समेत तिर्नुपर्ने छ।
शिक्षा सेवा शुल्क पुरानै कर हो। पहिला दुई प्रतिशत थियो। यस वर्षबाट बढाएर तीन प्रतिशत पुर्याइयो। पर्यटन शुल्क भने नयाँ हो।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा दुई प्रतिशत शिक्षा सेवा शुल्क लिने गरेको थियो।
आर्थिक विधेयक २०८० अनुसार विदेशी मुद्राको सटही सुविधा दिँदा सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लाग्नेछ।
विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैैंक वा वित्तीय संस्थाले नै शिक्षण सेवा शुल्क सङ्कलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गर्नेछ।
विदेश भ्रमणमा जाँदा कर लाग्दैनथ्यो। अब विदेश भ्रमणमा जाने नेपालीले भुक्तानी गर्ने रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन कर तिर्नुपर्ने छ।
यो कर वैदेशिक भ्रमणमा जाने व्यक्तिले भ्रमण प्याकेज बिक्रेतालाई प्याकेज किन्दा नै तिर्नुपर्ने व्यवस्था छ।
फर्म वा कम्पनी व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखाङ्कन बखत नै कर तिर्नु पर्ने नीति सरकारले ल्याएको छ।
जेठ १६, २०८० मंगलबार ००:०६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।