वैदेशिक लगानीको आकर्षणको क्षेत्र बन्दै लुम्बिनी प्रदेश

बुटवल : लुम्बिनी प्रदेशमा हाल वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेको बताइएको छ।
बुधबार बुटवलमा अन्तर्राष्ट्रिय वित्त निगम आईसीएफसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उक्त तथ्यांक प्रस्तुत गरे।
वैदेशिक लगानीका सञ्चालित मध्ये साना ३४, मझौला १६ र १७ ठूला उद्योग रहेका छन्। त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र करिब १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेका छन्।
उनले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षणको क्षेत्र रहेको बताउँदै वैदेशिक लगानीको पहिलो रोजाइ सेवामुलक, उत्पादनमुलक र पर्यटन क्षेत्रमा रहेको उल्लेख गरे।
यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा वनपैदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उनले बताए। कसजूका अनुसार राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।
लुम्बिनी प्रदेशमा दुई औद्योगिक क्षेत्र र भैरहवामा विशेष आर्थिक क्षेत्र छ। त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन्। यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन्।
त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र, बाँकेमा नौवस्ता औद्योगिक क्षेत्र रहेका छन्। यी औद्योगिक क्षेत्रको निर्माण र सञ्चालनको ढिलाइले उद्योग विस्तार र वैदेशिक लगानीमा तीव्रता आउन नसकेको उनले बताए।
त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भए पनि नीतिगत अस्पष्टताका कारण पर्याप्त लगानी आकर्षण हुन नसकेको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आईसीएफका प्रमुख आवासीय प्रतिनिधि बाबाकर एस फेईले निगमले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावस्यक सेवाहरू जस्तै विद्युत, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरू विकास गर्न दीर्घकालीन वित्त पोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने बताए।
उनका अनुसार आईसीएफ माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो। जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो।
जेठ ११, २०८० बिहीबार १३:०८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।