विदेश जाने मोहमा जे पनि पत्याइहाल्ने ! भुटानी प्रकरण नसकिँदै आयो राजवंशी कोटा काण्ड

काठमाडौँ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा सहजै जान पाइने भन्दै सरकारका उपप्रधानदेखि गृहमन्त्रीसम्मले ठगी गरेको घटनाको अनुसन्धान सकिएको छैन काठमाडौँमा। ३१ जना बढी संलग्न देखिएको यो प्रकरणको कारण विदेश जाने मोह नै प्रमुख रहेको अनुसन्धानमा खुलिसकेको छ।
जसरी पनि विदेश जान तयार समूहलाई ठगी गिरोहले सरकारको उच्चतहमा रहेकाहरूसँग मिलेर अर्बौँ ठगे। त्यसमध्ये केही मात्र प्रहरीमा उजुरी गर्न आए।
उता विराटनगरमा अपत्यारिलो ' राजवंशी' कोटामा जापान जान पाउने प्रलोभनमा ३६ जना ठगिएको घटना सार्वजनिक भएको छ। उनीहरूबाट दुई करोड ५३ लाख ठगी गरेको आरोपमा प्रहरीले मोरङ सुनवर्षी नगरपालिका– ६ का अजयकुमार राजवंशीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा उनले राजवंशी कोटामा जापान जान सकिने भन्दै ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि आइतबार उनी पक्राउ परेका हुन्।
उनी जापानमै बस्दै आएका थिए। एक वर्ष जापान बसेर नेपाल फर्किएका उनले जापानमा राजवंशी कोटामा जान पाइने भन्दै युवाहरूलाई छक्काएर ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा उनले जापान लैजाने भनेर जना व्यक्तिबाट पाँच देखि १६ लाख रूपैयाँसम्म लिएको उजुरीमा देखिन्छ। अजयसँगै उनका भाइ रञ्जित, भाइ बुहारी अनुराधा र बहिनी विद्यासहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको हो।
भुटानी शरणार्थी स्वदेश फर्कन नपाएपछि विभिन्न देशले आफ्नो देशमा पुनर्वास गर्ने योजना ल्याएपछि एक लाख १३ हजार शरणार्थीहरु कोही अमेरिका त कोही क्यानडा र बेलायत पुगे।
यता शरणार्थीको पुनर्वास कार्यक्रम रद्द भइसके पनि ठग समूहले नक्कली शरणार्थी बनाएर त्यसै गरी सहजै अमेरिकासहितको विभिन्न देशमा पठाइदिने भन्दा सहजै १० देखि ५० लाखसम्म बुझाएको प्रकरणको प्रहरीले अनुसन्धान गरिरहेको छ।
नक्कली भुटानी शरणार्थीको सूचीमा आठ सय बढिको नाम छ। तर प्रहरीमा १०६ जनाको मात्र जाहेरी परेको छ। जाहेरी अनुसारको बिगो रकम २६ करोड ८८ लाख ५७ हजार देखिन्छ।
जो ठगीमा परे उनीहरू सहजै विदेश जान पाइने लोभमै परेका देखिन्छन्। तर यसरी फसेका सबै अझै प्रहरीमा उजुरी दिन समेत आएका छैनन्।
नक्कली शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जना प्रहरी हिरासतमा छन्। थप १७ जना फरार जोडेर प्रहरीले ३३ जनालाई मुद्दा चलाउनुपर्ने राय दिने तयारीमा देखिन्छ।
जेठ ७, २०८० आइतबार २१:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।