व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा. महत

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेकाे बताएका छन्।

शनिबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा सांसदहरूसँग छलफलमा उनले आफू व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेकाे बताए।

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए।

सांसदहरूको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयाे, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन। तर हामी नेपालमै अवसरहरू सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाहरूको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’

‘यही उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ। नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ। हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ। नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं, मन्त्री डा. महतले भने, ‘ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो। समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ।’

अर्थमन्त्री डा. महतले ज्ञान र अनुभवलाई म उपयोग गर्ने भन्दै आफूले ठूलो स्वरमा कुरा नगर्ने बताए।

‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारीका साथ काम गर्छु। तर, दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरू गरिनेछन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ।’

राजस्व कम उठेको विषयमा आफू गम्भीर रहेकाे भन्दै उनले त्यस स्थानमा आफूले काम गर्ने बताए।

उनले अगाडि थपे, ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौ। राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु। ती कुरालाई हामी सुधार गर्छौ। यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन।’

भूकम्पको बेला लिएको ऋणसमेत नितरिएको भन्दै उनले ऋण भुक्तानीमा ध्यान केन्द्रीत गर्दा साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुने बताए।

‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ। भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन। ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ। प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं। सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं। यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं। यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ। पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ। यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ। मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरुले बुझिदिनुहुनेछ’ मन्त्री डा. महतले भने।

अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।

जेठ ६, २०८० शनिबार १५:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।