तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

तीन दिनभित्र रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। 

एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णयअनुसार वैशाख २७ गते मन्त्रालयले सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो। 

सोही परिपत्रको कार्यान्वयनका लागि मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए। 

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय/आयोग/सचिवालय/प्रदेश वा मातहतका कार्यालयहरू र स्थानीय तहहरूमा सरुवा/पदस्थापना/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएको संघीय निजामती कर्मचारीहरूको रमाना दिए/लिएको विवरण मिति २०८०-०२-०७ गतेभित्र उपपलब्ध गराइदिन मन्त्रालयको निर्णयअनुसार अनुरोध छ।’

यसअघिको परिपत्रमा रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत उल्लेख थियो। 

मन्त्री मोदीको निर्णयपछि रमाना नलिई बसेका दर्जनभन्दा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र संघीय कार्यालय मातहतका कर्मचारीहरुले रमाना बुझेका छन्। 

रमाना लिए/दिएका विवरण प्राप्त भएपछि अटेरी गर्नेहरूमाथि अन्य कारबाहीका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

जेठ ३, २०८० बुधबार १९:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।