प्रधानमन्त्री दाहालले दिए अस्ट्रेलियाली प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ।
बुधबार विहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।
प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गर्दै अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए।
भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो।
मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए।
जेठ ३, २०८० बुधबार १०:२९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।