नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब दिएको छैनः मन्त्री शर्मा

नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई दबाब नदिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।
अघिल्लो संसद्बाट दुई पटकसम्म पनि प्रमाणीकरण नभएको विधेयक नयाँ संसदले प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्श सुरु गरेका थिए। जसलाई सरकारले दबाब दिएको भनेर सञ्चारमाध्यमलगायत विज्ञहरूले अभिव्यक्ति दिएका थिए।
तर सरकारकी प्रवक्तासमेत रहेकी शर्माले यसको खण्डन गर्दै सरकारले दबाब नदिएको दाबी गरेकी हुन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि शर्माले भनिन्, ‘जहाँसम्म सरकारले राष्ट्रपतिलाई दबाब दिएको भन्ने विषय छ त्यो गलत कुरा हो। राष्ट्रपतिज्यूले कानुनी परामर्श लिनसक्नु हुने भयो। यदि मिल्छ, कानुनले दिन्छ भने संसद्बाट पारित भएकै हो, प्रमाणीकरण होस् भन्ने सरकारको सकारात्मक आशय हो।’
मन्त्री शर्माले कानुनी परामर्श गर्ने उहाँको (राष्ट्रपति पौडेल) अधिकारको विषय भएको पनि बताइन्।
जेठ २, २०८० मंगलबार १८:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।