बैंकको सीईओको गुनासो– ऋणीसँग पैसा माग्दा आत्महत्या गर्ने त्रास छ

काठमाडौं : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले ऋण उठाउन फोन गर्दा आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने डर बढेको बताएका छन्।
राजधानीमा आयोजित ‘दि बैंकिङ डिस्कोर्स २०२३’ मा बोल्दै उनले खराब कर्जा बढे पनि उठाउन सक्ने अवस्था नरहेको बताएका हुन्।
‘फोन गरेर पैसा माग्दा ऋणीले आत्महत्या गर्ने हुन् कि भन्ने त्रास छ,’ उनले कार्यक्रममा भने, ‘आत्महत्या दुरुत्साहन मुद्दामा परिएला भन्ने डरले फोन गरेर कर्जा उठाउन सक्ने अवस्था छैन।’
ढुंगानाले अप्ठ्यारो समयमा पनि मौद्रिक नीतिको समीक्षा राम्रो आएको बताए। वित्त नीतिले गर्ने काम मौद्रिक नीतिबाट होस् भन्ने चाहना राख्नु गलत भएको उनको भनाइ छ।
सोही कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अझै घट्दै जाने बताए। असार मसान्तसम्ममा स्प्रेड दर ४ प्रतिशतमा झार्नुपर्ने भएकाले ब्याजदर अझै घट्ने उनको भनाइ छ।
केसीले बैंकिङ क्षेत्रमा काम गर्न सुरक्षा थ्रेट रहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरेका थिए।
जेठ २, २०८० मंगलबार १५:०४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।