चक्कु प्रहार गरी पैसा र मोबाइल लिएर भागेका चार जना पक्राउ

चक्कु प्रहार गरी पैसा र मोबाइल लिएर भागेका चार जना पक्राउ

सिन्धुली : तिनपाटन गाउँपालिका-५ थाक्लेडाँडाको जंगलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउने मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो। उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन्।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी पक्राउ परेका हुन्।

अर्का आरोपित तिनपाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन्। 

उनीहरुले वैशाख ३१ गते थाक्लेडाँडाको जङ्गलमा ढुङ्ग्रेबेसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए। उनको दाहिने पातामा छुरा प्रहार गरी साथमा रहेको ३० हजार रुपैयाँ र एक थान मोबाइलसमेत लगेको बताइएको छ।

जेठ २, २०८० मंगलबार १३:००:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।