भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति

भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति

काठमाडौं : गत आइतबार साँझ भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको छ।

आइतबार सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्ससँगै उनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो।

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो। 

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे तिर अचानक आगलागी सुरु भएर त्यहीं आगो फैलिंदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी भएको थियो।

आगलागीमा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चा पदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजीत केसीले जानकारी दिए।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयबासीको सहयोगमा राति १० बजेर ३० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

जेठ २, २०८० मंगलबार ०७:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।