शरणार्थी प्रकरणमा संदिग्धहरूको राहदानी जफत गर्नुपर्छ : रास्वपा

शरणार्थी प्रकरणमा संदिग्धहरूको राहदानी जफत गर्नुपर्छ : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संदिग्ध व्यक्तिहरूको राहदानी तत्काल जफत गर्न माग गरेको छ।

पार्टीका महामन्त्री एवं प्रवक्ता सोमबार विज्ञप्ति जारी गर्दै पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संदिग्ध व्यक्तिहरूको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्नुपर्नेमा जोड दिए।

साथै पार्टीले यस प्रकरणमा पीडित पक्षको ठगी भएको रकम पीडकबाट असुल उपर गराई फास्ट ट्रयाकमा क्षतिपूर्ति दिलाउन सरकारद्वारा सहजीकरण गरिदिनसमेत आग्रह गरेको छ।

उसले यो प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्याएको भन्दै यसले विश्व सामु स्वाभिमानी नेपालीको शीर झुकाएको बताएको छ।

पार्टीले घटनाक्रमलाई सुक्ष्म ढंगले नियालिरहेको भन्दै हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन व्यक्त गरेको छ।

रास्वपाले यसलाई नव तस्करीको नविन रूप, ठगी र भ्रष्ट्राचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी, अन्तरदेशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी लगायतका अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेतको उल्लङ्घन भएको जनाएको छ।

यस प्रकरणका बहुआयामिक पक्षहरूलाई केलाई अनुसन्धानलाई सोही ढंगले अगाड बढाई दोषीलाई कडाभन्दा कडा कारवाही गर्न पार्टीले सरकारसमक्ष खबरदारी गरेको छ।

जेठ १, २०८० सोमबार १५:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।