वर्षको पहिलो सगरमाथा आरोहण टोली पुग्यो चुचुरोमा

काठमाडौं : सगरमाथामा सन् २०२३ को पहिलो आरोहण दल चुचुरोमा पुगेको छ। नेपाली सहित आज थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।
आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहीको रुपमा पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन्।
त्यस्तै नेपाली आरोही पासाङ तेम्बा शेर्पाले सगरमाथा आरोहण गरे। दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए।
कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको बताए।
उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन्। आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने उनले बताए।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन्।
यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौं सङ्ख्यामा आरोही प्रतिक्षारत छन्।
वैशाख ३१, २०८० आइतबार ११:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।