सात दिनभित्र अडिट रिपोर्ट सार्वजनिक गर्न कांग्रेस, एमाले, रास्वपासहित ८२ दललाई आयोगको निर्देशन

सात दिनभित्र अडिट रिपोर्ट सार्वजनिक गर्न कांग्रेस, एमाले, रास्वपासहित ८२ दललाई आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले ८२ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित आयोगमा समयमै अडिट रिपोर्ट पेश गर्ने ८२ राजनीतिक दललाई आयोगले त्यो अडिट रिपोर्ट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ५ बमोजिम सार्वजनिक गर्नसमेत निर्देशन दिएको हो।

आयोगले तोकिएको समयावधिभित्र लेखा अडिट रिपोर्ट सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५)को खण्ड (ग) बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५)को खण्ड (ग)मा दफा ४१ को उपदफा (५) बमोजिम लेखा परीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) सार्वजनिक नगर्ने राजनीतिक दललाई सात हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

यसैबीच निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाउने नौ राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले दललाई तोकिएको समयभित्र लेखा परीक्षण पेश गर्ने कार्य नगरेकाले किन कारबाही हुनुु नपर्ने हो, जवाफसहित सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

त्यसैगरी आयोगले २०७७/७८ र २०७८/७९ गरी दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने पाँच राजनीतिक दल, आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र नबुझाउने नौ राजनीतिक दल र लेखा परीक्षण  पेश नगर्ने १६ राजनीतिक दललाईसमेत स्पष्टीकरण सोधेको छ।

वैशाख २९, २०८० शुक्रबार ०८:०२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।