साढे ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सहायक वन अधिकृत र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

साढे ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सहायक वन अधिकृत र उनकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सपत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मिश्रले पदमा बहाल रहँदा पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको भन्ने उजुरीका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले बताएको छ। 

मिश्रको ७२ लाख ५२ हजार ४ सय ८० रुपैयाँ बराबर सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारको ठहर छ। 

२०३६ साल फागुन १० गते सेवा प्रवेश गरेका मिश्रको आय २०७० मंसिर १६ गतेसम्म ९६ लाख ६८ हजार र उनले गरेको जम्मा खर्च तथा लगानी (व्यय) १ करोड ६९ लाख २० हजार ५३८ हुन आउने र ७२ लाख ५२ हजार ४ सय ८० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ। 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र बमोजिम मिश्रले कसुरलाई निरन्तरता दिएको र ऐनको दफा २० को उपदफा (क) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले प्रकाशित गरेको चार्जसिटमा जनाइएको छ।

मिश्रलाई बिगोबमोजिम ७२ लाख ५२ हजार ४ सय ८० रुपैयाँ कायम गरी जरिवाना र कैद दुवै माग गरिएको छ। 

उनले गैरकानूनी रूपमा आर्जन गरेको उक्त सम्पत्ति जफत गर्नुका साथै उनको नाममा रहेको जग्गा तथा श्रीमती हीरादेवीको नाममा किनिएको जग्गामा बनेको घरसमेत स्रोत नखुलेका उक्त घरसमेत जफतको माग गरिएको छ। 

मिश्रकी पत्नी हीरादेवीलाई समेत अख्तियारले प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। 

वैशाख २८, २०८० बिहीबार २१:३१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।