भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, तर आरोप लाग्नेबित्तिकै दोषी ठहर गर्न हुँदैन : ओली

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, तर आरोप लाग्नेबित्तिकै दोषी ठहर गर्न हुँदैन : ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो सुकै दोषी भए पनि कारबाही गर्नुपर्ने बताएका छन्।

आज (बिहीबार)देखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै दोषी ठहर गर्न भने नहुने बताए।

उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ। हाम्रै साथीहरूको नाम पनि परेको छ। भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुनुपर्छ।’

‘तर जबसम्म मान्छे दोषी ठहर हुँदैन, त्यसबेलासम्म त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु भने हुँदैन,’ उनले थपे।

ओलीले यस प्रकरणमा एमालेलाई पूर्वाग्रही ढंगले फसाउने प्रयास हुनसक्ने भन्दै त्यसो भएमा भने एमाले चुप लागेर नबस्ने उल्लेख गरे।

वैशाख २८, २०८० बिहीबार १३:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।