दैलेख आगलागी : घाइते एकजनाको मृत्यु

दैलेख : दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।
आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जम मृत्यु भएको हो।
भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए।
उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो। बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।
अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।
वैशाख २८, २०८० बिहीबार १०:२३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।