बुद्ध एयरका सञ्चालक वीरेन्द्रले घोटाला गरेको भाइ शिवेन्द्रको दाबी

बुद्ध एयरका सञ्चालक वीरेन्द्रले घोटाला गरेको भाइ शिवेन्द्रको दाबी

काठमाडौं : बुद्ध एयरका सञ्चालक शिवेन्द्रबहादुर बस्नेतले आफ्नै दाइ वीरेन्द्रबहादुर बस्नेतले घोटाला गरेको आरोप लगाएका छन्।

उनले पत्रकार सम्मेलन नै गरेर आफ्नो दाइले कम्पनीमा आर्थिक घोटाला गरेको आरोप लगाएका हुन्।

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको मृत्यु भएपछि दाजुभाइबीच सम्पत्ति विवाद देखिएको छ। सुरेन्द्रको पुस १० मा मृत्यु भएको थियो।

पत्रकार सम्मेलनमा उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएको र ६० प्रतिशत सेयर रहेको दाइले ठूलै आर्थिक घोटाला गरेको दाबी गरे।

उनले दाइ (वीरेन्द्र)ले बुद्ध एयरको सम्पत्ति र दायित्वसम्बन्धी हिसाब पारदर्शी रूपले नदेखाएको बताए।

बुद्ध एयरमा बाबु सुरेन्द्रको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व रहेको र बाबुको स्वामित्वमा रहेको ८० प्रतिशतमध्येको आधा वीरेन्द्र र आधा शिवेन्द्रको परिवारको नाममा गरिदिएको उनको दाबी छ।

सोहीअनुसार ६० प्रतिशत वीरेन्द्र र ४० प्रतिशत सेयर आफ्नो परिवारको नाममा आएको पनि उनको दाबी छ।

४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानुनबमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्दा दाइले नदिएको उनको आरोप छ।

दाइ वीरेन्द्रबहादुरको परिवारका नाममा काठमाडौंमा ४ वटा र पोखरा, रामेछाप र भैरहवामा एक–एक वटा घर रहेको तर त्यसको स्रोत नखुलाएको उनको दाबी छ।

२५ वर्षअघि स्थापना भएको बुद्ध एयरले हाल १७ वटा विमानमार्फत सेवा दिँदै आएको छ। यो कम्पनीले करिब ६० प्रतिशत आन्तरिक उडानको हिस्सा ओगट्दै आएको छ।

वैशाख २७, २०८० बुधबार २१:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।