लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने

काठमाडौं : बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो।
‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समिति समेत गठन भइसकेको छ।
मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एसोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधि लगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए।
लुम्बिनीको होटल पवन प्यालेसमा हुने उक्त मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र सम्भावनाबारे प्रस्तुतीकरण रहनेछ। तीन दिनसम्म चल्नेउक्त मार्टमा देश र विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।
वैशाख २६, २०८० मंगलबार ११:१६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।