मेक्सिकोका सांसदले पनि विरोध गर्दै संसदमै फुकालेका थिए लुगा

मेक्सिकोका सांसदले पनि विरोध गर्दै संसदमै फुकालेका थिए लुगा

सोमबार प्रतिनिधिसभाको बैठक चलिरहेका समयमा स्वतन्त्र सांसद अमरेश सिंहले आफ्नो लुगा फुकाले।

सांसद सिंहले आफूले संसदमा बोल्न नपाएको आक्रोश पोख्ने क्रममा माथि लगाएका सबै लुगा फुकालेका थिए। 

सिंह उठेर लुगा खोल्दै नांगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । त्यसपछि भने उनले लुगा लगाएका थिए। 

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरूले समेत विरोध गरेका थिए । सभामुखले कारबाही गर्ने चेतावनी दिएपछि मात्र उनले लुगा लगाएका थिए। 

अश्लील हर्कत गरेकाले सभामुख देवराज घिमिरले कारबाही गर्ने चेतावनी दिएपछि मात्र सिंह शान्त बनेका थिए।

संसद बैठक चलिरहेका बेला सांसदहरूले आफ्नो माग पूरा नभएपछि यस्ता हर्कत देखाउँदै आएका छन्। तर लुगा नै फुकालेर संसदलाई आफूतिर आकर्षित गर्ने यस्तो काम यसअघि भने सम्भवतः नेपाली संसदमा भएको थिएन।

नेपालमा यसअघि नभएको यस्तो घटना मेक्सिकोमा भने सन् २०१३ मा भएको थियो।  

मेक्सिकोमा एक सांसदले संसदमा बहसको क्रममा आफ्ना सबै लुगा फुकालेका थिए। त्यस क्रममा संसदमा उनले भनेका थिए, ‘मलाई नांगो देख्दा लाज लाग्छ, तर सडकमा आफ्ना जनतालाई नांगो, नांगो खुट्टा, हताश, बेरोजगार र भोकाएको देख्दा लाज लाग्दैन ? 

मेक्सिकोका ती सांसदले राज्यनियन्त्रित तेल क्षेत्रलाई विदेशी लगानीका लागि खुला गर्ने विवादास्पद कानूनको विरोध गरेका थिए। पिआरडिका एन्टोनियो गार्सिया कोनेजो नाम गरेका ती सांसदले विरोध देखाउन संसदमै आफूले लगाएका सबै लुगा (अण्डरवेयरबाहेक) फुकालेका थिए।  

नयाँ ऊर्जा कानूनले निजी तेल र ग्यास कम्पनीहरूलाई नाफाको अंशको बदलामा सरकारी कम्पनी पेमेक्ससँग तेल र ग्यासको लागि सम्झौता गर्न अनुमति दिएको थियो। जसको उनले विरोध गरेका थिए। 

वैशाख २५, २०८० सोमबार २१:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।