नक्कली भुटानी शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदहरुको माग

नक्कली भुटानी शरणार्थी प्रकरण : गम्भीर छानबिन गर्न सांसदहरुको माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले हाल चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रुपमा छानबिन गर्नुपर्ने माग राखेका छन्।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। 

‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ। विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्’, उनले भने, ‘यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ।’

चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए।

‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्को तर्फ मोडिन्छ। त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुने गरी छानबिन गरिनुपर्छ। यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ’, उनले भने।

वैशाख २५, २०८० सोमबार १३:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।