नक्कली शरणार्थी र भ्रष्टाचारको विषयमा बोल्न समय नदिइएपछि लुगा फुकालें : सांसद सिंह

नक्कली शरणार्थी र भ्रष्टाचारको विषयमा बोल्न समय नदिइएपछि लुगा फुकालें : सांसद सिंह

काठमाडौं : सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरण र भ्रष्टाचारको विषयमा बोल्न समय नदिइएपछि आफूले विरोध स्वरुप संसदमै लुगा फुकालेको बताएका छन्।

स्वतन्त्र सांसद अमरेश कुमार सिंह आज जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका थिए।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘बजेट बिचौलियाले बनाउँछन्। अर्थमन्त्रीले पढ्छन् र सांसदहरूले ताली बजाउँछन्। बजेटबारे छलफल कहाँ हुन्छ ? मैले धेरै समय त मागेको थिइन। तर दुई मिनेट पनि बोल्न दिइएन।’

‘नक्कली शरणार्थी प्रकरणदेखि भ्रष्टाचारको विषयमा बोल्न समय दिइएन, त्यसैले मैले विरोध जनाए,’ उनले थपे।

सिंहले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्।

यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।

वैशाख २५, २०८० सोमबार १३:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।