आर्थिक विकासलाई ध्यानमा राखेर बजेट ल्याउन सांसदहरुको माग

आर्थिक विकासलाई ध्यानमा राखेर बजेट ल्याउन सांसदहरुको माग

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गर्न माग गरेका छन्।

सांसदहरुले बजेटमा शिक्षा, स्वास्थ्य, वनजङ्गल जस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्। सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा पनि ध्यान दिनुपर्ने बताए।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वयम् अर्थमन्त्री र अर्थमन्त्रालयलाई नै थाहा भएकाले खास अर्थमा समाधानको उपाय अपनाउन सांसद कमला पन्तले आग्रह गरिन्।

‘बिरालो बाँधेर श्राद्ध’ गर्नेतर्फ भन्दा पनि खास खास अर्थमा गर्न सकिने विषयलाई बजेटमा समावेश गरौं। हाम्रोमा कार्यान्वयनमा समस्या छ। योजनामा होइन,’ उनले भनिन्।

रासायनिक मल कारखाना स्थापना गर्ने प्रबन्ध बजेटमा गरिए त्यसले आम किसानको मनोबल बढाउने सांसद पन्तको भनाइ छ।

सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

सांसद दिलकुमारी थापा रावलले दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद मृगेन्द्र कुमार सिंह यादवले जनसङ्ख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्ने, समयमै  कार्यान्वयनको प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेख्य मात्रामा खर्च गर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

वैशाख २५, २०८० सोमबार १२:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।