माइतीघर र न्यूरोडबाट थाल्यो महानगरले अव्यवस्थित तारको व्यवस्थापन कार्य

काठमाडौं : काठमाडौं महानगरपालिकाले सोमबार (आज)देखि अव्यवस्थित तारको व्यवस्थापन गर्न थालेको छ। महानगरले आज माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू गरेको हो।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हाल दुइटा टोलीले तारको व्यवस्थापनका लागि दुईतिरबाट काम सुरू गरेका छन्। बिस्तारै यो टोली बढ्दै जाने र अन्त पनि काम सुरु हुने उनले बताए।
पहिलो चरणमा आज माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गरिने उनको भनाइ छ।
आइतबार पाण्डेको कार्यकक्षमा साझेदारबीच भएको छलफलबाट सोमबारदेखि व्यवस्थापनको काम थालिएको हो।
यस कार्यमा नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि पनि सामेल रहेको पाण्डेले बताए।
आइतबारको बैठकमा व्यवस्थापनका लागि यी क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारमा संकेत चिन्ह लगाउने र चिन्ह नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुने निर्णय भएको छ।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन)का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरू सहभागी थिए।
सेवाका लागि चाहिने भन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम बढेपछि अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट्याग) लगाउन महानगरले १५ दिनको समय दिएर वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो।
सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघ लगायतलाई पत्र पठाइएको थियो।
वैशाख २५, २०८० सोमबार १०:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।