टोपबहादुरलाई बचाउने सूर्य थापाको अभिव्यक्तिप्रति, ज्ञानेन्द्र शाहीले दिए कडा जवाफ

नेकपा एमालेका सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जानेहरूलाई पनि कारबाही गर्नुपर्ने माग राखेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाएका छन्।
थापाले संसदमा बोलेपछि शाहीले नियमापत्ति जनाउँदै थापाप्रति आक्रोश प्रकट गरे।
थापाले संसदमा भने, 'कोही पनि नक्कली भुटानी शरणार्थी बनेर जान चाहने नागरिक हो भने पनि त्यो अपराधी हो। त्यो अपराधी हो। उनका बारेमा धेरै रुवाबासी नगरौँ। नागरिक विदेशी भएर नक्कली शरणार्थी भएर, देशको नागरिकता त्यागेर रुवाबासी गर्दै हिँड्नुपर्ने जरुरी छैन। यो काण्डमा जोजो फसेका छन्। तिनीहरूका सन्दर्भमा छानबिन होस्। दोषी कसैलाई पनि नफसाइयोस्।'
आफ्ना पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेको प्रति थापाले घुमाउरो तरिकाले बचाउ गर्न खोजेका थिए।
यस्तैमा उनको भनाइ नसकिँदै राप्रपा सांसद शाहीले नियमापत्ति जनाएका हुन्।
शाहीले भने, 'आज हामी नागरिकलाई बाध्य पारेर, ५० लाख तिरेर शरणार्थी बन्न बाध्य पार्ने यी दलहरू अझ तिनीहरूलाई (नागरिक) उल्टो कारबाही गर्नुपर्छ भन्ने ?'
यस प्रकरणमा जोजो संलग्न छन् तिनीहरूलाई कारबाही गरियोस्।
यस्तै थापाले प्रधानमन्त्री प्रचण्डले अन्तर्वार्तामा आफूलाई दबाब आएको तर दबाब मान्दिनँ भनेको भन्दै दबाब कोमार्फत आएको हो सभामुखमार्फत प्रधानमन्त्री प्रचण्डलाई प्रश्न पनि गरे।
यसबारे प्रधानमन्त्रीले यो संसदमा बोल्नुपर्ने भन्दै थापाले सभामुखसँग समय दिन माग गरे।
'म प्युठानी जनताको तर्फबाट टिकट काटेर आएको छु। क्यान्टोनमेन्टमा अर्बौँ घोटला भएको छ। अविलम्ब छानबिन गर्नुस्।’
थापाले गृहमन्त्रीलाई सदनमार्फत आग्रह गरे, ‘कमानसिंह लामा करोडौँ ठगी प्रकरणबारे फिल्म हेर्न चाहन्छु। टिकट काटेर आएको छु। त्यो फिलिम हेर्ने व्यवस्था मिलाइयोस्।’
वैशाख २४, २०८० आइतबार १७:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।