विनोद चौधरीले भने, 'अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिनु जरुरी छ'

काठमाडौँः प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन्।
आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले भने, 'अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबन्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन । अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन।'
सांसद चौधरीले राजनीतिक दलहरूले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा गम्भीर रूपमा बैठकसम्म नबोलाएका आरोप लगाए। 'अर्थतन्त्र अरू धेरै बिग्रनुअघि हामी सच्चिन जरुरी छ । राजनीति सच्चिन जरुरी छ ।'
नेपालको अर्थतन्त्रमा समस्याको सूचीमै रहेको र यसलाई तथ्यांकले प्रमाणित गर्दै लगेको भए पनि सकारात्मक आशा गर्ने ठाउँ भने बाँकी रहेको चौधरीको भनाइ छ ।
'हामीले नेपाली अर्थतन्त्रको कालो बादलमा चाँदीका घेरा खोज्नुपरेको छ । निर्यातमुखी जलविद्युत् परियोजना निर्माण, रेमिट्यान्स उत्पादनमुखी क्षेत्रमा लगानी, पोखरा र भैरहवा विमानस्थलको प्रयोग, पाइपलाइनमा रहेका ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राखिनुपर्छ,' उनले भने।
विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको उनको भनाइ छ । संघीय सरकारले मात्र नभई प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु गम्भीर चिन्ताको विषय रहेको उनले बताए।
वैशाख २४, २०८० आइतबार १६:०४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।