मन्त्रालयले सशक्त भएर काम गरिरहेको छः गृहसचिव

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन्।
गृह मन्त्रालयले आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
उनले कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउँदै यहाँबाट आउने सुझावलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताए।
राष्ट्रिय योजना आयोगकी अध्यक्ष कमलाकुमारी पौडेलले द्वन्द्वको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा चपेटामा परेको बताइन्।
उनले द्वन्द्वकालमा हजारौँ बलात्कारका घटना घटे पनि उक्त घटना अझैसम्म बाहिर आउन नसकेको गुनासो गरिन् । अध्यक्ष पौडेलले गृह मन्त्रालयले तयार गरेको सम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सफल कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य मैना रावल कार्कीले द्वन्द्वका घटनालाई सरकारले समाधानको बाटोमा लैजानुपर्ने बताइन्।
वैशाख २४, २०८० आइतबार १५:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।