लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै महतले अर्थतन्त्रको हालको समस्याको समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सकिने बताएका हुन्।
‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौं, अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भयो। त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ। आज देखिएको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ,’ उनले भने।
‘राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ। फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ,’ उनले थपे।
महतले पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी बताए। उनले आउँदो वर्षमा अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजश्वमा व्यापक वृद्धि हुने अवस्था नरहेको पनि उल्लेख गरे।
उनले भने, ‘राजश्व अवश्य बढाउँछौं, तर हामीले सोचजस्तो एक वर्ष भित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो। लगानी आउन थाल्यो, उद्योग व्यवसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्छ। राजश्व वृद्धिका लागि केही समय लाग्छ।’
‘हामी साधारण खर्च र अनुत्पादक खर्च कम गर्छौं। साधारण खर्चमा धेरै विषय छन्। सामाजिक सुरक्षाका विषयदेखि लिएर, तलब भत्ता, स्थानीय तहमा जाने सहयोग पनि साधारण खर्चमा पर्छ,’ उनले भने, ‘तथापि कतिपय यस्ता क्षेत्र छन्, जहाँ खर्च कटौती गर्न सकिन्छ। अनावश्यक खर्च गर्ने परम्परा अन्त्य गर्दै पूँजीगत खर्चको प्रभावकारितालाई बढाउँछौं।’
डा. महतले सरकार आफैले सबै कुरा गर्न सम्भव नभएको र यसका लागि निजी क्षेत्र, बैंकिङ क्षेत्र र सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।
वैशाख २४, २०८० आइतबार १३:२९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।