अर्थतन्त्रको समस्या गम्भीर छ, तर आतंकित हुनुपर्ने अवस्था छैन : प्रचण्ड

अर्थतन्त्रको समस्या गम्भीर छ, तर आतंकित हुनुपर्ने अवस्था छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल मुलुकको अर्थतन्त्रमा समस्या भए पनि चिन्ताजनक अवस्था भने नरहेको बताएका छन्।

नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ कार्यक्रममा बोल्दै उनले गत वर्षदेखि नै मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताए।

‘नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गत वर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन,’ उनले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ। तर हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ।’

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको उनले बताए।

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एक भइ आर्थिक गतिविधिलाई तीव्र बनाउनमा लाग्नुपर्ने उनको भनाइ छ।

अन्य विकसित र विकासशील मुलुकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकलगायत निकायहरुले गरेको प्रक्षेपणका बाबजुद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रचण्डको दाबी छ।

‘विगत केही समयदेखि शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ,’ उनले भने।

वैशाख २४, २०८० आइतबार ११:२४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।