अदातलको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने कुरा पुनः प्रमाणित भयो : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदातल पाटनको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले केही दिन अघि सार्वजनिक भएको अदालतको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट मान्यता दिएको बताएका हुन्।
उनले भने, ‘सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौं महानगरपालिका लगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ। कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ।’
अब उनले टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने बताए। साथै त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने पनि उनले जानकारी दिए।
‘यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापना गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ। खोला छोप्ने कार्य वर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन्,’ उनले थपेका छन्।
यसअघि उनले टुकुचामाथिका संरचना भत्काउन थालेपछि अदालतमा मुद्दा परेको थियो।
वैशाख २४, २०८० आइतबार ०९:२६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।