क्रिकेटर करण र फुटबलर सावित्रा वर्षका उत्कृष्ट खेलाडी

पोखरा : क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारीले सातौँ स्पोर्ट्स अवार्ड जितेका छन्।
शनिवार आयोजित कार्यक्रममा केसी र भण्डारीले वर्ष उत्कृष्ट खेलाडी पुरुष/महिलाको उपाधि जितेका हुन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा केसी र भण्डारीले एक/एक वटा टेल्जि इलेक्ट्रिक स्कुटर पाए।
वर्ष उत्कृष्ट पुरुष विधामा केसीसँगै आर्चरीका गङ्गाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए।
महिलातर्फ भण्डारी, आर्चरीकी रोजिना थापामगर र तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका थिए।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीको पुरस्कार क्रिकेटका सुवास भण्डारीले पाए। उनले यु-१९ विश्वकप क्रिकेट छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।
उदीयमान खेलाडी विधामा भण्डारीसँगै भलिबलका रवि केसी र फुटबलका सुमीत श्रेष्ठ थिए।
वर्ष उत्कृष्ट प्रशिक्षक आर्चरीका किशोरकुमार गुरुङ बने। लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका विष्णुप्रसाद मर्सानीले पाए। ३५ वर्ष बक्सिङको प्रशिक्षक बनेका उनलाई शनिवार ताम्रपत्र, करुवाले सम्मान गरियो।
उत्कृष्ट खेल संस्थाको पुरस्कार कास्की जिल्ला ह्यान्डबल सङ्घले पायो। वर्ष उत्कृष्ट खेल पत्रकार पुरस्कार एपीवान टेलिभिजनमा कार्यरत सागरराज तिमिल्सिनाले पाए। सबै विधाका विजेताले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
वैशाख २३, २०८० शनिबार २२:५०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।