'विप्रेषण र पर्यटक बढ्दा सङ्कटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखियो'

बागलुङ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको भन्दै सङ्कटग्रस्त अर्थतन्त्रमा बिस्तारै आशाको किरण देखिन थालेको बताएका छन्।
बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारण सभामा शनिवार उनले विप्रेषण २५ प्रतिशतले बढेको, बैङ्कको सिडी रेसियो ८५ र ८६ प्रतिशत रहेको, ब्याजदर घट्दो क्रममा रहेको बताए।
ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको भन्दै अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी नभई बहुआयामिक कारण रहेको बताए।
कोभिड–१९, रुस–युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको भन्दै उनले आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको बताए।
निराशा मात्र बाँडेर नहुने भन्दै उनले सकारात्मक कुराको प्रसार गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने धारणा राख्दै उनले
राज्य सञ्चालनको ठुलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृह मन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको गुनासो गरे।
अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ थियो।
वैशाख २३, २०८० शनिबार २२:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।