राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेक सुविधा कटौती गर्नुपर्छः गगन थापा

राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेक सुविधा कटौती गर्नुपर्छः गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेक सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। 

विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सके मात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए। 

नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले भने, 'म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।'

'सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ', उनले भने। 

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताए। 

वैशाख २३, २०८० शनिबार २०:३४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।