मापसे गरेर होहल्ला गर्नेलाई सम्झाउँदा प्रहरीमाथि नै खुकुरी प्रहार

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई)माथि शुक्रबार राति खुकुरी प्रहार भएको छ।
दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरलाई चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको हो।
खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ ।
सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले खुकुरी प्रहार गर्ने युवाहरुको खोजी भइरहेको बताए।
‘जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे। खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजी कार्य जारी छ,’ उनले भने।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह रहेको छ।
वैशाख २३, २०८० शनिबार ११:४१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।